हेटौंडाका ध्वस्त भएका कार्यालय खुले तर कर्मचारी बाहिरै

पालिका संचारकर्मी
३० भाद्र २०८२, सोमबार ११:४९

हेटौंडा । हिजोबाट मकवानपुरमा रहेका सरकारी कार्यालयहरु हिजोबाट खुलेका छन् । तर, सेवाग्राहीहरुका काम गर्नका लागि धेरै खालका समस्याका कारण कर्मचारीहरुनै तनाबमा छन् । हेटौंडामा रहेको बागमती प्रदेशका मन्त्रालय र जिल्ला स्तरमा ध्वस्त भएका सरकारी कार्यालयबाट काम सुरु गर्नका लागि निकै कठिनाइ भएको छ । जेनजी आन्दोलनका क्रममा हेटौंडाका बागमती प्रदेशका अधिकांश मन्त्रालय तोडफोड र आगजनी भएपछि सामान्य सेवा सुरु भए पनि मन्त्रालयभित्र कतिपय कर्मचारी प्रवेश नै गर्न सकेनन् । कार्यालयको मूल प्रवेशद्वारमा सिसा, काठका टक्रा र जलेका सवारीसाधनका धुलोले कार्यालय प्रवेश गर्नै कर्मचारीलाई सकस भयो । मन्त्रालय र कार्यालयमा कहाँ कति क्षति पुगेको छ भन्ने मुचुल्का तयार गर्ने काम भइरहेका छन् । अधिकांश कार्यालयमा कर्मचारी कार्यालयबाहिरै बसेर अवलोकन छन् भने केही कर्मचारी कार्यालयमा प्रवेश गरे पनि कार्यकक्ष अस्तव्यस्त अवस्थामा रहेकोले बाहिरै बस्नु परेको कर्मचारीहरु बताउँछन् ।

बागमती प्रदेशको भौतीक मन्त्रालयका आर्थिक प्रशासन महासाखाका प्रमुख श्रीराम पुडासैनीले भने अवस्था बिजोग भएकाले कार्यालय प्रवेश गरेर काम गर्न सक्ने अवस्था नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँका कोठाहरु छानीछानी जलाइएको छ । स्टोरका सामानलाई लक्षित गरेर जलाइएको छ । मन्त्रालयका कागजात, फर्निचर, कम्प्युटर, गाडी, जलेर नष्ट भएका छन् । मन्त्रालयमा बसेर काम गर्न सक्ने अवस्था छैन । कतिपय कार्यालयको काम फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्था छ ।” मन्त्रालयहरु र बिभीन्न जिल्ला स्तरका जलेका कार्यालयहरुमा आइतबार जेनजीको आन्दोलबाट भएको क्षतिको विवरण तयार गर्ने काम भएको छ । कति क्षति पुग्यो भन्ने यकिन भएको छैन तर आइतबार कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था भने नभएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । आन्दोलनका क्रममा सग्लो रहेका सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय आइतबार खुलेपनि सेवाग्राही भने काम लिनका लागि त्यती आएका थिएनन् ।