हेटौंडामा अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गैरी गाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको खानी तथा भूगर्भ विभागले निष्कर्ष निकालेको छ । घटनास्थलको प्रारम्भिक अध्ययनपछि खानी तथा भूगर्भ विभागले जमिनमुनिको कमजोर संरचना र गलत ढङ्गले गरिएको बोरिङलाई मुख्य कारणका रूपमा औँल्याएको हो । बाइस वर्षअघि नै खतरापूर्ण क्षेत्रको रूपमा चिनिएको गैरी गाउँमा लापरबाहीपूर्वक गरिएको बोरिङले अहिलेको समस्या निम्त्याएको विभागको निष्कर्ष छ । भूगर्भविद् कृष्ण पाण्डेले दिएको जानकारीअनुसार, जमिनमुनिको सिल्टयुक्त माटो बोरिङका क्रममा बाहिर निकालिँदा जमिन कमजोर भई सिंकहोल बनेको हो । विभागका भूगर्भविद् डा।नारायण अधिकारीको नेतृत्वमा गरिएको अध्ययन अनुसार, जमिन भासिएको ठाउँको केन्द्रमा कम्तीमा ११ मिटर गहिरो सिङ्कहोल देखिएको छ । अध्ययनले जमिन मुनिबाट निरन्तर सिल्ट मिश्रित पानी निस्किरहेकाले भविष्यमा जमिन अझै भासिने जोखिम रहेको चेतावनी दिएको छ । ‘कमजोर जमिनले माथिको लोड धान्न नसक्दा जमिन भासिएको हो,’ पाण्डेले भने । यसअघि खानी तथा भूगर्भ विभागले २०६२ सालमै तयार गरेको इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सामा पनि गैरीगाउँ क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रको रूपमा चित्रित गरिएको अधिकारीले बताए । विभागको पछिल्लो अध्ययनमा भूउपग्रह तस्बिर, पुराना प्रतिवेदन र वैज्ञानिक परीक्षणको आधारमा जमिन भासिएको पुष्टि गरेको उनले बताए ।
भासिएर बेपत्ता भएको बोलेरो गाडी भेटिएन
१९ वैशाखमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सीमास्थित भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने ना४च ४८३३ नम्बरको सिङ्गल क्याप बोलेरो गाडी (भ्यान) एक्कासि जमिन भासिएर बेपत्ता भएको थियो । उक्त गाडी अहिलेसम्म फेला परेको छैन । गाडीको अगाडी पट्टीको पाङ्ग्रा धसिएपछि निकाल्ने क्रममा एक्कासि जमिन नै थर्किएर गाडी भासिएको थियो । गाडीका चालक हरेराम राई र सहचालक भने भागेर बच्न सफल भएका थिए । यसअघि खानी तथा भूगर्भ विभागबाट भूगर्भविद् डा। नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले दुई दिनसम्म गाडी भासिएको ठाउँको अध्ययन गरेका थिए । घटनास्थलको जमिन र त्यस वरपर अत्यधिक कमजोरी देखिएकाले थप अध्ययन तत्काल सम्भव नभएको भन्दै भूगर्वविद्हरुको टोली काठमाडौँ फकिर्एको थियो । २३ र २४ वैशाख दुई दिन भूगर्भविद् अधिकारी नेतृत्वको टोलीले भासिएको गाडी र घटनास्थल आसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । भूगर्भविद्हरूको टोलीले गाडी भासिएको स्थानको भूबनोट निकै कमजोर र तरलता युक्त रहेको निष्कर्ष निकालेका थिए ।
अध्ययनपछि भूगर्भविद् डा.अधिकारीको टोलीले उक्त क्षेत्रमा निर्माण कार्य गर्नुअघि भूगर्भीय परीक्षणको आवश्यकता देखाएको बताएका थिए । विशेषगरी माछा पोखरी, कुलो, सिँचाइ प्रणाली र बोरिङ जस्ता संरचनाहरूका कारण जमिन थप कमजोर हुने भएकाले भूगर्भको अध्ययन अनिवार्य रहेको उनको भनाई थियो ।यसैबिच हेटौँडा उपमहानगरपालिकाले उक्त स्थानलाई सुरक्षित राखेको छ । थप कुनै जोखिम नहोस् भन्ने उद्देश्यले उक्त क्षेत्रलाई हाल शील गरिएको हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिए । ‘गाडी निकाल्ने प्रयासपछि जोखिम देखिएकाले सो क्षेत्रलाई तत्काल सिलबन्दी गरिएको छ,’ उनले भने, ‘घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ र जमिन थप भासिन नदिन सावधानी अपनाइएको छ ।