एमालेको निर्णय : प्रचण्ड अल्पमतमा परेर कामचलाउ भइसके, तत्काल राजीनामा गरुन्

पालिका संचारकर्मी
२४ असार २०८१, आईतवार १२:१३

काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पदमा बसिरहनु अनुचित हुने बताए ‘संसदीय दलले नयाँ सरकारका लागि कांग्रेसको पहलको स्वागत गरेको छ । कांग्रेसले स्थिर सरकार बनाउन खेलेको भूमिकामा लागि धन्यवाद दिएको छ’, उनले भने, ‘प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि स्पष्ट अल्पमतमा परेको छ। यो सरकारले अझै पनि राजीनामा दिएको छैन । यो सरकारले राजीनामा नदिनु गलत हो ।’उनले प्रधानमन्त्री प्रचण्ड कामचलाउमा परिणत भइसकेको बताएका छन् । ‘कामचलाउ बनिसकेका प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नु आवश्यक छ’, उनले भने, ‘अल्पमतमा परेको सरकारले विभिन्न प्रकारका निर्णय गरिरहेको छ । यो सरकारले कुनै पनि निर्णय गर्न पाउँदैन। राष्ट्रहित र संविधान हितविपरीतका निर्णय नगर्न हामी आग्रह गर्छौँ ।’प्रधानमन्त्री आजै र अहिले नै राजीनामा दिनुपर्ने पनि बताए । ‘उहाँले २८ गते संसद्‍मा विश्वासको मत माग्ने गरी पत्र पठाउनु भएको छ । २८ गते विपक्षमा एमालेले मतदान गर्छ’, उनले भने, ‘१० दिन, ७ दिन समय मागिरहनु भएको छरु देशलाई के का लागि त्यहाँ पुर्‍याउनु हुँदैछ। के का लागि अल्झाउन खोज्नु भएको छ । यो अनुचित कार्य हो ।’